एक थर्को सिन्दूरबाट सुरु भएको
तिम्रो सिन्डिकेट
पलपल म भोगिरहेकी छु।
स्वतन्त्र भई उडान भर्ने
यो मनलाई निर्दिष्ट गन्तव्य पुग्न,
नियन्त्रण गर्ने सामाजिक अधिकारको
अख्तियार गर्दै,
तिमी पुरुषत्वको उन्मादमा
किन निर्धारण गर्छौ
मेरो जीवनको रुट ?
र म किन घिस्रिन्छु
अनगिन्ती अनिच्छाका बिमतीलाई
जीवन यात्राको नाममा,
अघोषित तिम्रो सिन्डिकेटभित्र ?
थ्याच्च ब्रेक लगाएर चाहनामाथि,
उकुसमुकुस कुण्ठा खचाखच थुन्दै,
आदर्शको खोक्रो अस्तित्व
जबरजस्ती आत्मसात गर्दै,
चलायमान भएजस्ती
किन भएकी म ?
मेरो डिम्ब
मेरो स्वअधिकारमा हुनुपर्ने हो,
तर रिजर्भ हुन्छ यो
पतिको नाममा,
वंशको नाममा।
र किन मैले गुडिरहनुपर्छ
जीवनका अनेकौँ
डर लाग्दा घुम्तीहरूमा ?
यो समाजको बक्र रेखामा थुनिएकी
मजस्ती नारी अस्मिता
स्वतन्त्र सरल रेखामा
गुड्न कहिले सकिएला ?
र कहिले अन्त होला
यो मनमाथिको सिन्डिकेट ?