शायद एउटा आशा
झिनो सपनाभित्र लपेट्दै
एक हुल निरीह
खाली पेटहरु
भोकको ज्वाला निभ्छ कि भनेर
नयाँ वर्ष कुरिरहेकाछन् होला
भविष्य चर्न
मरुभूमिमा पुगेका
कर्मठ हातहरु
जहान परिवारको खुशी खोज्न
तातो रापमा भौँतारिन पर्दैन कि भनेर
नयाँ वर्ष कुरिरहेकाछन् होला
र यो कुराइमा
आफ्नै माटो, आफ्नै बोली
आफ्नै कुटो र कोदालो
बाँझो जोतिरहेको हली
आफ्नै कला र संस्कृति
आपसी सद्भावमा घोली
निराशालाई चिर्दै
झुल्कन्छ कि कतै नयाँ कीरण
चर्का र भद्दा बोलीले टट्याएका सपना
आश्वासनले रन्थनिएका भरोसा
बेरोजगार मथिङगलहरु माथि मडारिदा
सचेत भएर अब त
स्वविवेकका आभाहरु
छरिन्छन् कि गाउँ वस्तिहरुमा
आस्थाका धरोहरहरु माथि
उरन्ठेउला जोश फिँजेर
आफ्नै अस्तित्व स्वाहा गरि
आगो ताप्नेहरु
ब्युँझिन्छन् कि पस्चाताप
होमादीमा
र रच्छन् कि फेरि माटोको नयाँ इतिहास
यसैले
नयाँ वर्षको शुरुवातदेखि
वादको माद भन्दा अपनत्व बोलोस्
पक्ष-विपक्षको
बक्र रेखा
कोर्नु भन्दा
सद्भाव, माया प्रेम हुर्कियोस्
आफ्नो माटाे आफ्नै हुन्छ
पौरखको पसिनाले
देशको भविष्य सिँचियोस्
नयाँ वर्षको शुभकामना!