Tuesday, December 29, 2009

रुदैमा सकिएछ कि आँसु मेची काली नि सुकेको छ रे
रिनमा थिचिएर होला सगरमाथा नि झुकेको छ रे

आफ्नै गाउँ घर नि सुरक्षित छैन भन्छन आजभोलि
कुन बेला झम्टने हो है बहुला कुकुर फुकेको छ रे

भाषण बेच्नेहरु माटो दुखेको सुन्दा रहेनछन कि
चारैतिर मिचिएर सांध सिमाना देश दुखेको छ रे

सर्बभौम भई फैलिए पनि हिमाल पहाड तराइ
सापटिमा भित्रेको बिचारमा खाल्टा खुल्टी लुकेको छ रे

गर्जिदैमा बर्सिने भए हर बादलमा बर्षा हुन्थ्यो
मनसुन बिनाको गर्जन बिना बर्षा नै चुकेको छ रे

Wednesday, December 23, 2009

भन्नेले जे भनुन मैले जिन्दगी हारेको छु
छैन कतै कानुन दैलो दैलो म चारेको छु

हरा भरा धरा त शायद छैन मेरो भागमा
लाग्छ फुल भनेर अचेल सिस्नो सारेको छु

बाटो दुखेर हो कि हिडने ढंग नपुगेर
भड्किएको यो यात्रा नयन भरि झारेको छु

हर्रो बर्रो टर्रो के ,औषधी भनि दिए दिदाँ
नजाने पछि खान बोक्रै सम्म दारेको छु

मसलामा असला अहा! भन्दै जाल हालियो
खानु कि नखानु लौ भ्यागुतो पो पारेको छु

Saturday, December 19, 2009

पुष माघ तेस्तै भयो जेठ भए पनि तापिरहेछु
बारादान अभिसाप जान्दिन चुपचाप थापीरहेछु

अधेरो त छदै थियो अझ प्रदुषणको तुवाँलो छायो
उज्यालो लोभ भो,आगो किनी छाना भरि छापीरहेछु

फुकेका पेटका तर्किक निष्कर्ष कहिले निस्कन्छ
सुक्दै ग'का पेट भित्र चाउरिका रेखा नापिरहेछु

बाद प्रतिबाद घात प्रतिघात खेल्न सिकिदै छ
जिते पनि हारे पनि आँसु जित्ने खेल् अलापिरहेछु

मेरो माटो पसिना माग्छ म पसिना चिन्दिन शायद
नचिने'छि के लाग्छ पानी भनि तेजाब छ्यापिरहेछु
काउकुती लाग्दो रैछ नछुदा नि तिम्रो त जिउलाई
पग्लिदा के दोष दिनु खै आगो अघी पर्या घिउलाई

ढल्की जाला जवानीको रुपरंग सजाइ दिन्छु आउ
पत्थरै पो भन्छन औठी भित्र नसजिए यिउलाई

हात देउ साथ दिन्छु जिबनका उकाली ओरालीमा
कसै गरी छाडदैन जसरी हिमालले हिउलाई

उजाड छ पतझड जिबन यो बसन्तको रहर भो
हराबरा मन फुल्छ छरे देखि दिलको बिउलाई

Sunday, December 13, 2009

आरामै त छु भन्नु पर्ला बाँचेकै छु म यहाँ
तिमीले भने जस्तै दिदी खुशी हुन्छ र कहाँ
कसो गरी कोरु म अब परदेशको कथा
दुखी रछु पल पल आफ्नै घर देश सम्झ्दा

रात दिन खट्टिनु पर्छ मिसिन सङै चली राछु
थाक्दा नि छैन आरम गोरु जस्तै जोती राछु
भिज्छ जिउ पसिनाले गल्छ हात गोडा पनि
कठै !भन्ने छैन कोही तिमी सम्झी रुन्छु अनि

आर्का देश अर्कै भेष अर्कै भाषा बोल्नु पर्दा
भित्रै देखी चित्त दुख्छ फिरङीले जब पेल्दा
बच्दैन दाम दिदी जती नै काम गरे पनि
कठै!भन्ने को छ यहाँ थाला परि मरे पनि

कमाइ धमाइ यस्तै हो जिबन धानेको छु
खप्परै अभागी रैछ कि यस्तै मानेको छु
न सुनको डल्ला मिल्यो न पाए बोट पैसैको
दुखै दु:ख जता पनि साथ मिल्दैन कसैको

बुढा बुढी भेटन पनि साइतै जुराउन पर्ने
कस्तो बेस्त जिबन हो आँफैलाई हराउन पर्ने
छोरा छोरी बेदेशी भए भाषा संस्क्रिती भुले
एग ईटनु भयो भन्छन नेपाली भाषामा बोले

कार चढेर के गर्नु उधारैको हो यो खेती
रिनमा बाँचेर ब्याजमा रुनु छ यहाँ कती
यस्तो लाग्छ दिदी आँफै नि अब बन्दकिमाछु
आश नगर पैसोको तिमी आँफै कंगाल भाछु

मनका बह सकिन्न अरु पछि सुनाउला
लेख्दै गर्नु पत्र पढेर आफुलाई भुलाउला

Saturday, December 12, 2009

सुस्त सुस्त बोल तिमी भित्ताले नि सुन्छ भन्छन
कुरा काटी खुशी हुने आफ्नै मान्छे हुन्छ भन्छन

मन भित्र मन पस्यो रोजाइ कै कुरा थियो हाम्रो
गल्ती के भो पशु पनि आफ्नी जोडी चुन्छ भन्छन

भरोसाको बजारमा विश्वाश नि बेचिन्छ अरे
मुटु सुन्ने मनले नै धेरै जाल बुन्छ भन्छन

जोड कट्टा जान्नु कसो पिरतीको हिसाबमा
मायामा त बरु मुटु मुटुले नै गुन्छ भन्छन

भर गर भनु भने आँट छैन भन्छ्यौ तिमी
डर लाग्छ माया गर्ने जिबन भरि रुन्छ भन्छन