Thursday, June 25, 2009

तिम्रो साथ छुटे देखि जिन्दगी यो कालो भयो
सम्झी फेरि ति दिन पुरानो घाऊ आलो भयो

बिस्मातका रेखा गुजुल्टी मनलाई जेली दियो
लाग्छ हाम्रो प्रेम पथ माकुराको जालो भयो

सफा सुकिलो सध्दे जे देखिए पनि यथार्थमा
हाम्रो सम्बन्ध मक्काइ सकेको टालो भयो

पग्लिने नौनी होइन संग्लिने पानी होइन
यो मन आशै आशले भरिएको डालो भयो

न समाउन सक्छु बिगत न भुल्न सक्छु
बह फुकाइ डाको छोडने अब पालो भयो

Tuesday, June 23, 2009

मायामा के मिसायौ तिम्ले,आर्कै गन्ध आको हो कि
आफ्नो भाखा बिर्सी फेरी तिम्ले अर्कै गीत गाको हो कि

न अटाउन सक्छु न हटाउन सक्छु कस्तो माया
यस्तो लाग्छ पूर्व जन्मको तिम्रो ऋण खाको हो कि

अनिर्णयको बन्धी भएकोछु,नजिक छेयौ कि टाढा
लोलोपोतो यता मिलाई अन्तै माया लाको हो कि

फुल भनि चुमे काँडा बनी बिझ्यौ भोगाइको कुरा
छल्की खस्छ आसु तिमीबाट उपहार पाको हो कि

सिउदै थिए म जिन्दगी उधार्दै रैछ्यौ तिमी चाँही
शिल्प पुगेन या भनु फेशन पुरानो भाको हो कि
तिम्रो मेरो उध्रिएको साईनो जोडने सियो छ कि
अध्यारोमा डुब्या बेला बलिदिने कतै दियो छ कि

मुटु भरी घात प्रतीघात पाकी सकेछ अब त
खुदेर मेरा दु:ख झारी दिने कतै मियो छ कि

खुशी थाप्दा जिन्दगी हारे थापु भने दु:खै दु:ख छ
भाग्यको पासा पल्टाउन सक्ने कतै तियो छ कि

भङालोमा परेको छु हारगुहार मागे तिमी सँग
लुते हात त थर्थरायो अब कतै बलियो छ कि