Monday, September 27, 2010

तिमीले साट्या मुटु पनि भित्र भित्रै चर्किएको छ
नपत्याए हेर आँखा यि साउन भदौ दर्किएको छ

दुई कदम संगै थियौ बदलियो झै भो जिन्दगी
छदम रैछ ति कदम आज भोली तर्किएको छ

अबोध लाग्थ्यो मन्द मुस्कान ति म माथि छरिएका
बिझेर तिनै पलहरु जिन्दगी यो सर्किएको छ

अब त घाम कहाँ जुन कहाँ सारा तारा टुटे मेरा
छट्पटी छ छाती भरी लाग्छ घाऊ फर्किएको छ

तिमी बिनाको अधुरो यो जिबन मधुरो हुँदै छ
बाँच्नैको लागि बाँचेको यो मन पनि मर्किएको छ

Thursday, September 16, 2010

सुन्दैछु म ,मेची र काली नि चेपिएको छ रे
भुत्ते भो कि गोर्खे खुकुरी नि हेपिएको छ रे

कलापानी सुक्यो भन्छन जंगे पिलर ढल्यो रे
लाजैले हो कि सगरमाथा सेपिएको छ रे

पलायन भए शिप शिल्प रोजी रोटी टिप्न
रित्ता पेट भित्र रिनै रिन खेपिएको छ रे

कतै छिटा रगतका कतै गन्ध बारुदका
बुद्ध फल्ने माटो रगतमा लेपिएको छ रे

दही जम्यो कि त ईतिहास रच्ने हात भित्र
दुख्दा दुख्दै सिमा आँफै तिर ढेपिएको छ रे

Saturday, September 11, 2010

तिमी सम्झी सम्झी दुख्ने मुटु मैले लुकाको छु
आलै छ घाऊ फेरि नि छाती भित्रै सुकाको छु

बिना गल्ती दोषी भए सम्झी तिमी कती रोए
अधुरा सपना बिझाउदा रात दुखाको छु

भर थिए डर भए पर पर तिमी भाग्छ्यौ
न भाग भो तिमी घेर्ने यि नजर झुकाको छु

हार भो कि जित भयो बन्दकीमा छ यो मन
च्याँखे कस्ले थाप्यो बेर्थै ठुलो घाटा चुकाको छु

बिर्सि दिनु भन्छ्यौ तिमी बाँच्ने आधार खोसेर
बरु आउ अटाउ मायाको पारीधी फुकाको छु