Monday, January 26, 2009

मेरो माटो रोइरहेछ
यो माटो,मेरो माटो
ईतिहास साक्षी छ
न झुक्न जान्यो ,न लुक्न जान्यो
न भाग्न जान्यो ,न थाक्न जान्यो
बरु स्वाभिमानमा धावा बोल्ने माथि
खुकुरीको धारले बारुदलाई टुक्राएर
चन्द्र सुर्य धोजाको शान बढाउदै
बीरताको ईतिहास रच्न जान्यो
तेस्तै
शान्ती र सह अस्तित्व ज्योति बाली
संसार भरी बुद्ध फिजाएर
सदभाब र भाईचाराको सन्देश बोकेर
शान्तिको ध्वनी फुक्न जान्यो
तर तेही माटो आज
कहिले टायरको बिसाक्त धूवामा अमील्लेर
कहिले फोहोर र दुर्गन्ध किचिएर
निरन्तर निसासिरहेछ ,छटपट्टी रहेछ
"सुन्दर शान्त बिशाल"को खोल पनि
बारुदको छिट्टामा उछिट्टिएर
छिया छिया भै क्षत बिक्षेत भईरहेछ
यहाँ आजका स्वघोषित बिदुरहरु
सकुनी सँग काँधमा काँध मिलाई
निष्ठा र नितिका व्याख्या गर्दै
कहिले तराइ दुखाइ रहेछन
कहिले पहाड दुखाइ रहेछन

आफ्नो उचाई आँफै गिराइ
छानो बालेर मानो सेकाउनेहरु
आँगन खानेर भँडार पुर्नेहरु
कहिले सिन्दुर पुछेर कहिले ममता खुदेर
आफ्नै बिचारको संरचना पनि भत्काइ रहेछन
तेस्तै
सुधारिएको दाबी गर्ने दुर्योधन
संयमताको उदाहरण दिदै
जिर्ण र थोत्रा बिचार धोएर
बिबेकको जलप टल्काइ रहेछन
अनी
साधना बिनाको भक्तहरु
मन्दिर बिनाका पूजारिहरु
बिद्वानको पगरी गुथी
दिग्भ्रमित दर्शन बाँडिरहेछन
चेतना निभेर हो कि
बिबेक गुमेर हो कि
जतिय भेद ,रंगिय भेद
लिंगिय भेद ,धार्मिक भेद
भेदै भेदैमा रंमगिएको
अभाबका अक्रान्त ज्वालाहरु
निभाउनुको साटो दन्काएर
गाली र तालिको खेल खेली रहेछन
अर्का तिर
दाबिले पेट र ख्याउटे अनुहार
कुपोषणमा रन्किएको मुहार
भत्किएका झिना सपना बुन्दै
अस्ताइ सकेको आशाको किरण
हल्लै हल्लाको बस्ती भित्र खोजी रहेछन

खिचातानी र हानाहानीको खेलमा
सदभाबको बिर्को कस्ले थुनीदियो
मार्गदर्शनको बाटो कस्ले भत्काइदियो
आफ्नै घर परदेश भए सरी
बिट फाटेको टोपी भित्र
अस्ताउन लागेको स्वाभिमान छेकी रहेछन
अब त लाग्छ
पसिना माग्ने मेरो माटो
रगतको आहालमा डुबेर
श्रम रोज्ने मेरो माटो
हतियारको धारमा रेटिएर
रोइ रहेछ ,रोइ रहेछ
हुन त
आफ्नो अस्तित्व हराको बेला
सगरमाथाको उधारो शानलाई
बिस्व मानचित्रमा उचालेर
आफ्नो परिचय सिउरिन सक्नु पनि कसरी र?
बारुदको धूवा भित्र बुद्धत्व खोज्दै
कोलाहल र चित्कार छिचोली छिचोली
शान्तिको छरपस्ट धुमिल किरण
संसारको कुनाकुना फिज्न सक्नु पनि कसरी र ?
फेरी
कहिले जातिय बिभेदको पर्खालले छेकेर
कहिले भेष र भुषाको तगारोले बेरेर
कहिले माटोको अंशबन्डा खोजेर
कहिले बाटो भरी आफ्नै हातले काँडा छरेर
नौलो बिहानिलाई मिर फाँट भन्न सक्नु पनि कसरी र ?
तेसैले होस्टे भन्दा हैसे भन्नेहरु
मेची दुख्दा महाकाली रुनेहरु
आज खोइ के भयो
जथ्था जथ्था भई ,हुल हुल भई
ईशाराका पाइलाहरु चाल्दै छन
शक्ती र भक्तिको खेल खेल्दै छन
अब त यस्तो लाग्दै छ
स्वयमभूका आँखले पनि अन्याय सहन जानेको छ
पशुपति नाथले पनि त्रिनेत्र थुन्न थालेको छ
कतै कसैको सहारा नपाए पछी
माटो हो दुखे रुन्छ ,रोइरहेछ
माटो हो खुदे रुन्छ,रोइरहेछ
नरो भन्ने को नै बाँकी भए र यहाँ
यो माटो ईतिहास सम्झेर रोइरहेछ
बर्तमान दुखेर रोइरहेछ
भबिष्य सोचेर रोइरहेछ

No comments: