Saturday, August 6, 2022

 दोब्रिएका कलमका निबबाट 

जबर्जस्ती कोरिने अक्षर जस्तै    

मेरो देशको कविता लेख्ने मसी पनि 

अचेल यस्तै कलममा भरिएको छ 

र जबर्जस्ती लेखिँदै छ 

छन्द नमिलेको कविता जस्तै         

देशको स्वदेश गान 


कहिले चर्को कहिले मधुरो 

लय भंग

बेसुर धून भरिएको संगीत जस्तै

आश्वसन लयहरूले 

टट्याएका छन् अचेल कानहरू


खोइ कहिले लेखिन्छन् 

अनवरत सद्भावका कविताहरू

निव नभाचिँएका कलमले र 

मेटिन्छन् सारा दुःखी मनका पीडाहरू


खोई कहिले बज्छन्

 सुमधुर सरगमका धूनहरू 

र गाइन्छन आर्तका  घाउहरू 

मल्हमका रागहरुले 

अब त हे 

कलम समाउने हातहरू

टाठाबाठाको चङ्गुलमा 

निस्ससिएको कवितालाई 

एउटा नयाँ आयम बोकेर 

एउटा नयाँ आकार बोकेर 

स्वतन्त्रताको कविता लेख 

निर्धक्क भएर 

निडर भएर 

अनि पो भित्रिनेछन् 

नयाँ यामका  बिहानीहरू 

र 

दैलोभरि झुल्किनेछन् 

खुशीका कविताका आभाहरु

No comments: